एमाले महाधिवेशन : उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने — OSNepal

एमाले महाधिवेशन : उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

LC (KTM) November 24, 2021 0

चितवन, ८ मङ्सिर -नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो । बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उहाँले बताउनुभयो ।

आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् । तामाङले भन्नुभयो, “यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।

स्वास्थ्य बीमाको टिकट अनलाइनबाट -भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ । उहाँले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताउनुभयो । कोरोनापछि दैनिक स्वास्थ्य बीमाका बिरामी आठ सयको हाराहारीमा अस्पतालमा आउने गरेको पौडेलले जानकारी दिनुभयो । सामान्य अवस्थामा भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट व्यवस्था गरिने भएपछि बिरामीहरु बढ्ने उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर