एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ? — OSNepal

एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ?

LC (KTM) November 03, 2021 0

काठमाडौं, १७ कात्तिक- नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ ।

आउँदो १०–१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक दलका नेतासहितलाई आमन्त्रण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

महाधिवेशनका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक शक्ति र नेपालमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् । देशभित्रका ‘ठेगाना’ खुलेका राजनीतिक शक्तिलाई आमन्त्रण गरिने भट्टराईको भनाइ छ ।

उनकाअनुसार महाधिवेशनमा एमालेसँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरू तथा आइक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।

निमन्त्रण पठाइएकाबाट सकारात्मक सन्देश प्राप्त भएको भट्टराईले बताए । साथै उनका अनुसार नेपालका प्रमुख राजनीतिक दलहरू र नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरूलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर