एमाले महाधिवेशन : महासचिवमा किन घोषणा भएन उम्मेदवारी ? यस्तो छ कारण — OSNepal

एमाले महाधिवेशन : महासचिवमा किन घोषणा भएन उम्मेदवारी ? यस्तो छ कारण

LC (KTM) November 26, 2021 0

चितवन, १० मंसिर -एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चिवनतमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो उपस्थितिले चितवन गर्माएको छ ।

महाधिवेशन प्रचारका लागि सजाइएका चोक, आर्कषक गेट, भित्तेचित्रलगायतले चितवन बेहुलीझैँ देखिएको छ । काठमाडौं उपत्यकासहित देशभरबाट चितवन आइपुगेका नेतामध्ये केहीले उम्मेदवारी घोषणा पनि गरिसकेका छन् । तर, एमालेको आकर्षक मानिने महासचिव पदमा भने अहिलेसम्म एकजनाले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

सहमति र निर्वाचन दुवैको समानान्तर तयारी चलिरहेको महाधिवेशनमा महासचिव पदका लागि अध्यक्ष केपी ओलीनिकटका दुईजना नेताको आकांक्षा छ ।वर्तमान उपमहासचिव विष्ण्ुा पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल ओलीनिकट नेता हुन् । महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डे १०वुँदे सहमतिबाट एमालेमा फर्किएका नेता हुन् । यी तीन नेताको नाम चर्चामा ल्याइए पनि तीनैजनाले औपचारिक रूपमा महासचिवमा दाबी गरेका छैनन् ।

एमाले नेताहरूका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा कुनै हालतमा सहमति गराउने पक्षमा ओली उभिएका कारण नेताहरूले उम्मेदवारी घोषणा नगरेका हुन् ।

ओलीको चाहनाविपरीत भीम रावलले अध्यक्षमा र ईश्वर पोखरेल, घनश्याम भुसाल तथा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने चाहना देखाइसकेका छन् । उपाध्यक्षमा भने देवराज घिमिरेले मात्र औपचारिक रूपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

योगेश भट्टराईले सचिवमै दोहोरिने इच्छा व्यक्त गर्दा सचिवमा अन्य सबै नयाँ आकांक्षी छन् ।

ओली सचिव छाडेर सोभन्दा माथिको पदमा सर्वसम्मत नेतृत्व छान्ने रणनीतिमा भएकै कारण महासचिवमा तीनैजना दावेदारले खुलेर उम्मेदवारी घोषणा नगरेको एमालेका नेताहरू बताउँछन् ।

स्रोतका अनुसार शुक्रबार बिहानैबाट ओलीनिकट नेताहरू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावललाई मनाउन लागिपरे पनि रावल तयार भइसकेका छैनन् ।

ओलीनिकट नेताहरू रावललाई दबाब दिन महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘ओलीको विकल्प ओली’ भन्दै प्रचार गराउन थालेका छन् ।
अधिकांश प्रतिनिधिलाई ओलीको पक्षमा उद्घाटन अघि नै खुल्न लगाएर रावललाई दबाब दिने उनीहरूको रणनीति रहेको रावल पक्षधर एक नेताको दाबी छ ।

स्रोतका अनुसार रावलले वरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष मान्न तयार रहेको बताएका छन् । तर, ओलीनिकट नेताहरूसँगको छलफलमा भने उनले औपचारिक रूपमा यो प्रस्ताव राखिसकेका छैनन् ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष टुंगो लगाएपछि प्याकेजमै उपाध्यक्ष र महासचिवको टुंगो लगाउने ओली पक्षधर नेताहरूको रणनीतिकै कारण महासचिवका दाबेदारहरूले औपचारिक रूपमा उम्मेदवारी नदिएको अर्का एक नेताको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर