ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनः दैलेखमै फिर्ता — OSNepal

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनः दैलेखमै फिर्ता

LC (KTM) January 05, 2022 0

कर्णाली, २१ पुस -दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ ।

सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामकतोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामालाई हस्तान्तरण गरिएको थियो । आज बिहान फलाँटेस्थित तालिम केन्द्रमा पूजापाठ गरी सैनिक गाडीमा राखेर तोप–गोला दैलेख पु¥याइएको हो । इन्द्रदल गुल्मका गुल्मपति लामाले हाल तोप र गोला काँडाचौरस्थित गुल्ममै राखिने बताउँदै भन्नुभयो, “कोतगढीमा तोपघर निर्माण पूरा नहुञ्जेल सैन्य सामग्री काँडाचौर ब्यारेकमै राखिनेछ ।” दैलेख सदरमुकामस्थित पुरातात्विक सम्पदा कोतगढी नेपाली सेनाको स्वामित्वमा छ ।
नारायण नगरपालिकाले कोतगढीको पर्यटकीय विकासका लागि तोप घर निर्माण गरिरहेको छ । नारायण नगरपालिका र इन्द्रदल गुल्मले जङ्गी अड्डासमक्ष तोप र गोला दैलेखमा पुनःस्थापना गर्न माग गर्दै आएका थिए । बुढापाकाका भनाइमा २०२८ सालमा दैलेखमा भोकमरीका कारण सैनिक गण नै सुर्खेत सार्नुपरेको थियो । जिल्लामा खाद्यान्न अभाव भई भोकमरीको अवस्था सिर्जना हुनु र तराईबाट खाद्यान्न ढुवानी गर्न सडक तथा अन्य वैकल्पिक ढुवानीका साधन नहुँदा सरकारले कोतगढीमा बस्दै आएको गण सुर्खेत सारेको थियो ।

सैनिक गणसँगै सुन्दरी, अर्गा तोपका साथै परम्परागत गोला बारुद पनि सुर्खेत ल्याइएको थियो । पित्तल धातुको सुन्दरी तोप विसं १८४६ ताका बनेको बताइन्छ । नारायण–१ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले दैलेखको इतिहाससँग जोडिएका तोप–गोलाको पुनःस्थापनाले जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिनुभयो । “यो नेपाली सेनाको मात्रै होइन, हाम्रो जिल्लाकै अमूल्य सम्पति हो”, उहाँले भन्नुभयो, “सेनासँग सहकार्य गरेर कोतगढीमा संरक्षण र सम्वद्र्धन नगरपालिकाले गर्नेछ, त्यसका लागि पूर्वाधारको व्यवस्थापनको काम भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर