ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाकाे मृत्यु — OSNepal

ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाकाे मृत्यु

LC (KTM) November 15, 2021 0

ओखलढुंगा, २९ कात्तिक -ओखलढुंगाकाे चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका-९ कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

क्षमताभन्दा बढि यात्रु बाेकेकाे प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियाे । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएकाे हाे । गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य नाै जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाकाे समेत ज्यान गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन ।

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुबेकाे छ । गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शाेकमा डुबेकाे सिद्धिचरण- १० का वडा अध्यक्ष दामाेदर धमलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर