कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक हुने — OSNepal

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक हुने

LC (KTM) November 25, 2021 0

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ । नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताए ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।

स्थगित परीक्षा १६ गते भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षार्थी रहेका सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उहाँको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही समय ढिलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर