कर्णालीपुत्री सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् — OSNepal

कर्णालीपुत्री सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन्

LC (KTM) January 11, 2022 0

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताउनुभएको छ । बुढालाई आज कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गर्नुभएको हो । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटरको अल्ट्रा ट्रेल रेसअन्तर्गत महिला प्रतियोगीहरुमा विश्वमा प्रथम आएर बुढाले कर्णाली र नेपालका नामको संसारभर चिनाएको भन्दै खुसी व्यक्त गर्नुभयो । सुनमायाको जीतले कणालीवासीको गर्वले छाती फुलेको उहाँको भनाइ थियो ।

बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको उक्त रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्नुभएको थियो । “विश्वमा विकासमा सबैभन्दा पछि परेको देश नेपाल र नेपालमा अति नै पछि परेको कर्णालीले सुनमायाको जीतसँगै आज विश्वसामु आफ्नो इतिहास लेखाउन सफल भएको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीपुत्री बुढालाई हार्दिक बधाई छ । बुढाको सम्मानका लागि कर्णाली प्रदेश सरकारले रु दुई लाख छुट्याएको छ ।”

प्रदेश सरकारले खेल र खेलाडी प्रवद्र्धनमा जोड दिएको बताउनुभएका उहाँले नेपालमै भलिबल कभर्ड हलसहित सुर्खेतमा रु एक अर्ब ७० करोडको अत्याधुनिक रङ्गशाला निर्माणको कार्य तीव्ररुपमा अगाडि बढाइएको जनाउनुभयो । कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकट भूगोल सफलताको मानक बन्दो रहेछ भन्ने उदाहरण सुनमायाले देखाएको प्रतिक्रिया दिनुभयो । जुम्ली छोरी बुढाको योगदानको उच्च मूल्याङ्कन स्थानीय, प्रदेशसहित नेपाल सरकारले गर्नुपर्नेमा उपाध्यक्ष हमालले जोड दिनुभयो ।

कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशको सान सुनमायाले नेपालको नाम उँचो राख्न सफल भएको बताउनुभयो । सदस्यसचिव सञ्ज्यालले मुख्यमन्त्री शाहीसमक्ष हरेक वर्षको ओलम्पिक दिवसमा ‘काँक्रेविहार अल्ट्रा ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राख्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली क्षेत्र अल्ट्रा ट्रेल रेसको सम्भाव्य भूमि हो । यहाँको खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष जोड दिनुपर्दछ ।”

उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले सुनमायाको सफलताले नेपालको नाम विश्व इतिहासमा स्वर्णिम अक्षरले लेखिने बताउनुभयो । सुनमाया जस्ता हिराहरु जन्माउने कर्णाली कमजोरी नभएको जिकिर गर्दै महासचिव कँडेलले खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि निजी क्षेत्रबाट अपेक्षित सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

पातारासी गाउँपालिका–२ जुम्ला पेरे गाउँ निवासी अल्ट्रा ट्रेल रेस विजेता २३ वर्षीय बुढाले जीवनका कठिन कर्मले मीठो फल मिल्ने अनुभूति व्यक्त गर्नुभयो । “गाह्रो काममा मात्र नाम छ,” बुढाले भन्नुभयो, “गाह्रो कामले सिकाउने र जिताउने दुवै गर्दो रहेछ ।” उहाँले स्वदेशी तथा विदेशी खेलाडीले प्रशिक्षण लिने खालको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको विकासमा जोड दिन मुख्यमन्त्री शाहीलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर