कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने — OSNepal

कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

LC (KTM) November 15, 2021 0

सुर्खेत, २९ कात्तिक- कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर्माण सम्झौता-पत्रमा हस्ताक्षर गरिएको हो ।

वीरेन्द्रनगरमा हाल रंगशाला रहेकै स्थानमा डेढ अर्ब बढी लगानीमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । ३० महिनामा काम सक्ने गरी एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए । उनका अनुसार अबको एक साताभित्रै संरचना निर्माणको शिलान्यास हुनेछ ।

निर्माण कम्पनी एमएसीजिएसएल ज्वइन्टभेन्चर कान्तिपथ काठमाडाैंसँग परिषद्ले सम्झौता गरेको छ । रंगशालाका लागि कर्णाली सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा भाग लिएका ६ निर्माण कम्पनीमध्ये एमएसीजिएसएल छानिएको हो ।

रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधक बनाइनेछ भने प्यारापिटमा ग्याल्वनाइज फलामका राखिने भएका छन । एक हजार पाँच सय दर्शक क्षमता भएको बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला निर्माण हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइने पनि सम्झौतामा उल्लेख छ ।

भीआइपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने छन् । अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने छन् ।

निर्माण सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न व्यवसायीलाई अनुरोध गरेका छन । उनले सरकार, खेलकुद परिषद् र निर्माण व्यवसायी सबै गम्भीर बनेर आयोजना निर्माणमा सक्रिय बन्नुपर्ने बताए ।

‘पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्न रंगशाला बनाउन लागिएको छ । यो वा त्यो ढंगबाट बहानाबाजी गरी काममा ढिलाइ नगर्नु होला,’ मुख्यमन्त्री शाहीले भने ।

कर्णाली सरकारले गत २६ असारमा रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रूपमा निर्माण गर्ने निर्णय गरेको थियो । कर्णालीमा खेलकुदको विकासका लागि रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा लिइएको सरकारले जनाएको छ । कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने लक्ष्य सरकारले लिएको छ । उक्त प्रतियोगिता हुनुभन्दा पहिला नै खेलकुदका संरचना बनाउने गरी तयारी थालिएको हो ।

भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । अधिकांश जिल्लामा सामान्य खेल मैदानहरू पनि निर्माण भएका छैनन् । जसले गर्दा खेलाडीहरूलाई दैनिक अभ्यासका साथै जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा समेत समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर