कांग्रेसमा जनताको आकर्षण बढ्दो छ : पूर्वमन्त्री भण्डारी — OSNepal

कांग्रेसमा जनताको आकर्षण बढ्दो छ : पूर्वमन्त्री भण्डारी

LC (KTM) December 28, 2021 0

दमौली-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गर्नुभयो । “देशैभर कांग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भन्नुभयो, “जनताको भरोसा टुट्न दिँदैनौँ ।” पूर्वमन्त्री भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

भण्डारीले निकट विषयमा हुने तीनवटै तहको निर्वाचन कांग्रेसले जित्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौँ, सबै एकजुट भएर लागेको खण्डमा कांग्रेस हार्दैन ।”

मुलुक र मुलुकवासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा भएका सबै विकास र परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उहाँको भनाइ थियो । भण्डारीले कम्युनिष्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिष्टले जनमतको कदर नगरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, सहसचिव परमेश्वर भट्टराई, पूर्वसचिव समुन्द्र गोदार, बन्दिपुर गाउँ सभापति कर्ण खत्रीलगायतले पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर