कांग्रेस खोटाङको मतदान सर्‍यो, बुधबार बिहान ७ बजेबाट मतदान हुने — OSNepal

कांग्रेस खोटाङको मतदान सर्‍यो, बुधबार बिहान ७ बजेबाट मतदान हुने

LC (KTM) November 23, 2021 0

खोटाङ, ७ मंसिर -नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनअन्तर्गत बुधबार मतदान हुने भएको छ । नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानको समय एक दिनपछि सारेको हो ।सुरुमा मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुनः दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने सूचना जारी गरेको थियो । तर, जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले ‘प्राविधिक कारणले’ भन्दै पुनः अर्को सूचना जारी गर्दै बुधबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेका छन् ।

मतपत्र प्रिन्ट गर्न पाँच घण्टा समय लाग्ने भएका कारण मतदानको समय सार्नु परेको निर्वाचन अधिकृत भट्टराईले बताए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ३७८ मतदाताले कांग्रेसको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । तर, १ हजार ४०० मतदातालाई पुग्ने ७ हजार मतपत्र प्रिन्ट गर्ने तयारी गरिएको छ । एक जना मतदाताले पाँच वटा मतपत्रमार्फत मत हाल्नु पर्ने हुन्छ । रातभरमा आवश्यक मतपत्र छाप्ने काम पुरा गरिने निर्वाचन अधिकृत भट्टराईले बताए ।

तोकिएको समयमा मतदान नहुँदा र पटक–पटक मतदान गर्ने समय सारिँदा क्षेत्रीय प्रतिनिधि असन्तुष्ट बनेका छन् । पटक–पटक मतदानको समय सारिँदा मतदाताले निर्वाचन अधिकृतको कार्यालय पुगेर आक्रोश पोखेका छन् ।

घरायसी काम थाँती राखेर दिक्तेल आइपुगेका मतदाता थप एक दिन बस्नुपर्ने अवस्थाले खर्च बढेको र धानबाली भित्र्याउने लगायतका काम बितेको कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । आगामी राष्ट्रिय महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्वसभापति राई आमनेसामने भएका हुन् । कांग्रेस जिल्ला कार्य समितिको ७ पदाधिकारी र ३२ जिल्ला सदस्य चयनका लागि दिक्तेलको सरस्वती माविमा मतदान हुँदैछ । यस्तै, २५ जना संघीय महाधिवेशन प्रतिनिधि पनि मतदानबाटै छनौट हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर