कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बलायर प्यानलसहित विजयी — OSNepal

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बलायर प्यानलसहित विजयी

LC (KTM) December 05, 2021 0

धनगढी, १९ मंसिर-नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । उनी ६ सय ८८ मत ल्याउँदै सभापतिमा विजयी भएका हुन् । प्रदेश समिति चयनका लागि भएको मतदानमा खसेका एक हजार तीनमध्ये सभापतिका अर्का प्रतिस्पर्धी इतर समूहका नारायणदत्त मिश्रले दुई सय ८० मत मात्रै प्राप्त गरे ।

प्रदेश उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६ सय १० र अवस्थीले पाँच सय २३ मत पाएका छन् । महामन्त्रीमा बलायर प्यानलकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् । यस्तै सहमहामन्त्रीमा पनि बलार प्यानलकै गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

यस्तो छ मत परिणाम
सभापति
वीरबहादुर बलायर –६८८(विजयी)
नारायणदत्त मिश्र –२८०

उपसभापति
गोपालसिंह गुरुङ –२८१
जनकराज चौधरी –६१०(विजयी)
मनबहादुर रावल –२६३
लोकराज अवस्थी –५२३(विजयी)
हिमबहादुर रावल–१२१

महामन्त्री
नरनारायण शाह मनु –६४८(विजयी)
प्रताप गुर्धामी–१३३
मेघराज खड्का –६३५(विजयी)
रामबहादुर शाही –३०३

सहमहामन्त्री
गोपालदत्त भट्ट–५२९(विजयी)
चिन्तामणि भट्ट –५३३(विजयी)
नरेन्द्रप्रसाद भट्ट–२१२
पदमराज पन्त –२५४
लक्ष्मणबहादुर शाही – १६४
हर्कबहादुर स्वाँर–६८

महिला सहमहामन्त्री
अम्बिका कुमारी चलाउने–६८६(विजयी)
खिना भण्डारी –२२३

को हुन बलायर ?
प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरकाे कतै नाम सुनिएकाे थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍याे ।

५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।
बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए ।

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियाे । संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर