काठमाडौँको चन्द्रागिरिमा हिमपात — OSNepal

काठमाडौँको चन्द्रागिरिमा हिमपात

LC (KTM) December 29, 2021 0

काठमाडौ-काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको बताइन् । हिमपात भएसँगै हिउमा खेल्न जानेहरु खुशी भएका छन् ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

त्यस्तै दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा पनि भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिए ।

ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ । हिउँ निरन्तर परिरहेकाे उनले बताए । हिमपातले चिसो अत्यधिक बढेपछि जनजिवन कष्टकर बनेको छ ।

ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, २ को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोकट, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ ।
कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ ।

दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर