कास्कीको लान्द्रुकमा ७५ बर्षीय बुवा भिरमा  मह काढ्दै,  हेर्नुहोस भिडियोमा — OSNepal

कास्कीको लान्द्रुकमा ७५ बर्षीय बुवा भिरमा  मह काढ्दै,  हेर्नुहोस भिडियोमा

LC (KTM) December 08, 2021 0

मर्दी र अन्नपूर्ण आधार शिविर पदमार्गको रुटमध्ये पर्ने भए पनि कास्कीको लान्द्रुक गाउँमा पर्यटकको त्यति साह्रो चहलपहल छैन । लान्द्रुकवासी अहिले हनी हन्टिङबाटै गाउँलाई चिनाउन कस्सिएका छन् । उनीहरूले भिरबाट मह निकाल्नु सामान्य भए पनि यसलाई पर्यटनसँग जोड्ने जुक्ति बनाएका छन् ।

पर्यटकको आवागमन बढाउने उद्देश्यसहित कास्कीको अन्नपूर्ण गाउँपालिका-७, लान्द्रुकमा २१ देखि २३ मंसिरसम्म ‘हनी हन्टिङ फेस्टिबल २०७८’ हुँदैछ । डेढ दशकअघि पनि ठूलो जमघटसहित मह काढिएको थियो । त्यसपछि लान्द्रुकमा पर्यटकको चहलपहल बढ्यो । कोभिड-१९ ले पर्यटक कम हुन थालेपछि त्यहाँका स्थानीय पुरानै जुक्तिअनुसार पर्यटक बोलाउन जुटेका हुन् ।

वर्षमा दुईपटक मोदी खोलाको किनारस्थित कोटेसाङ भिरबाट मह निकालिने भए पनि यो वर्षको दोस्रो सिजनमा महोत्सव नै गरेर स्थानीयले मह काढ्दै छन् । प्रत्येक वर्ष कात्तिक-मंसिर र वैशाख-जेठमा मह काढिन्छ । यसपालि तीनदिने महोत्सव गरेरै मह काढ्ने योजनासहित लान्द्रुकवासी पर्यटक बोलाउन जुटेका छन् । ‘हाम्रो लागि मह काढेको हेर्नु नौलो होइन । तर, धेरैलाई नौलो विषय हो,’ महोत्सवका प्रचारप्रसार संयोजक कमल गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘कोभिड-१९ ले गाउँमा पर्यटकको चहलपहल घटेको छ । पर्यटन पनि राम्रो हुन्छ भनेर यो फेस्टिबल गर्न लागेका हौँ ।’

गाउँकै अनुभवी ९ जना भिरौटेको टोलीले मह काढ्ने गुरुङले जानकारी दिए । मह काढ्नेबाहेक महोत्सव अवधिमा परम्परागत नौमती पञ्चेबाजा, पाहुनालाई स्थानीय धार्मिकस्थल (क्युप्च र दूधे बराह) को दर्शनको व्यवस्था र स्थानीय खानाको प्रवर्द्धन गरिनेछ । भिरमा झुन्डिनुपर्ने भएकाले हनी हन्टिङ निकै जोखिमपूर्ण हुन्छ । त्यसैले गाउँलेबाहेक अरुले महोत्सवमा मह काढ्न नपाउने संयोजक राम गुरुङले बताए ।

‘यो काम एकदमै जोखिमपूर्ण हुन्छ । हाम्रो गाउँमा पहिल्यैदेखि यही काम हुँदै आयो । अहिले गाउँकै दाजुभाइले गर्नुहुन्छ,’ रामले भने, ‘बाहिरकाले काढ्न पाउँदैन । अर्कोपटक परिस्कृत गर्दै जान्छौँ ।’ महोत्सव गर्न गाउँपालिकाले १ लाख रुपैयाँ दिएको छ । विदेशमा रहेका र गाउँमै भएकाले पनि महोत्सव खर्च दिइरहेका छन् ।

‘गाउँपालिकाले बजेटमै फेस्टिबलका लागि भनेर राखेको थियो । अरु विदेशबाट र गाउँलेबाट जुटाएका छौँ,’ संयोजक गुरुङले थपे, ‘मह राम्रै पर्‍यो भने बेचेर पनि खर्च उठ्छ ।’ महोत्सव सक्न साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । भिरमौरीको मह २५ सयदेखि तीन हजार रुपैयाँ प्रतिलिटरमा बिक्रीवितरण हुने गरेको छ ।

लान्द्रुकमा मह काढेको छायांकन गर्न नेपाली र विदेशी चलचित्रकर्मी पुग्ने गरेका छन् । पोखराबाट साढे दुई घण्टामा लान्द्रुक पुगिन्छ । पोखराको हरिचोकबाट बिहान ९ बजेदेखि ३ बजेसम्म लान्द्रुक जाने जिप पाइन्छ । होटल व्यवसायी विष्णु चापागाईंका अनुसार लान्द्रुकमा १३ वटा होटल र आठवटा होमस्टे छन् । होटलमा खानबस्न १२ सय रुपैयाँ र होमस्टेमा ८ सय रुपैयाँको प्याकेज व्यवस्था छ ।भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर