के छ प्रचण्डको प्रतिवेदनमा ? — OSNepal

के छ प्रचण्डको प्रतिवेदनमा ?

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस-नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । र, उनले पेस गरेको प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको छ ।ती समूहमा छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ ।

सोमबार साढे २ घण्टा भन्दा धेरै बेर लगाएर प्रचण्डले स्थायी समितिबाट पास भएको प्रतिवेदन बन्दसत्रमा वाचन गरेका थिए ।‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रस्तुत गरिएको प्रतिवेदनमा प्रचण्डले शान्ति सम्झौता गरिएपछि आफू र पार्टीबाट भएको गल्तीलाई पनि उल्लेख गरेका छन् ।

पार्टी एकता, अदालतको फैसला, एकता भंग हुनाको कारण, प्रचण्डपथ, पार्टी कमजोर हुनाको कारण सहित विश्वपरिस्थिति, जलवायु परिवर्तन र आगामी कार्यदिशा लगायतका विषयमा राजनीतिक प्रतिवेदनमा व्याख्या गरिएको छ ।

महाधिवेशनलाई विचारको महाधिवेशन बनाउने दाबी गरेको माओवादीले प्रचण्डको प्रतिवेदनमा गम्भीर छलफल गर्छ कि समूहगत छलफल ‘कर्मकाण्डी’ मात्र हुन्छ भन्ने हेर्न बाँकी नै छ ।

के छ प्रचण्डको प्रतिवेदनमा ?

प्रचण्डले प्रतिवेदनमा विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो क्रममा रहेको उल्लेख गरेका छन् । उनले देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको उल्लेख गरेका छन् ।

राजनीतिक शक्तिहरूका बीचमा नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको भएको भन्दै प्रचण्डले नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रचण्डले पार्टी कमजोर हुनाको कारणबारे प्रतिवेदनमा उल्लेख गरेका छन् ।

केही वर्षदेखि आफूहरुको पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै उनले यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।

त्यसका लागि विचारको स्पष्टता आवश्यक रहेको उनको भनाइ छ । भुमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै हामीले पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिने प्रचण्डले उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले ‘प्रचण्डपथ’ स्थगन गर्नु गलत भएको बताएका छन् । जीवन-मृत्युको त्यो भिषण प्रक्रियामा पास भएको प्रचण्डपथ प्रचण्डको व्यक्तिगत सम्पत्ति जसरी स्थगन गर्नु सरासर गलत थियो, उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पार्टीमा देखिएको विद्रोह कि संविधान निर्णाण भन्ने अन्योलले क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर