कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश जारी — OSNepal

कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश जारी

LC (KTM) January 15, 2022 0

सुर्खेत- कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गर्नुभएको हो ।

प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक, सामाजिक प्रकृतिका कार्यक्रम नगर्ने÷नगराउने, २५ जना नबढ्ने उपस्थितिमा गतिविधि सञ्चालन गर्दा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, अत्यावश्यक कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनको अनुमति लिने उल्लेख छ । साथै औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानूनबमोजिम कारबाही गरिने उल्लेख छ ।

सुर्खेत जिल्लास्थित शिक्षण संस्था माघ १५ गतेसम्म बन्द गर्ने, माघ ७ गतेसम्म सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिनेछ । कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित एवं आकस्मिक अनुगमन गर्ने र अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर