कोशीमा पानीको बहाव बढ्यो : सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममा,सर्तकता अपनाउन आग्रह — OSNepal

कोशीमा पानीको बहाव बढ्यो : सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममा,सर्तकता अपनाउन आग्रह

LC (KTM) July 03, 2021 0

सुनसरी- लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन् । सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै ट्याङ्ग्रा खोला पसेर इटहरीको खनारलाई डुबाएको छ । अहिलेसम्म ठूलो समस्या नभए पनि यही अवस्थामा निरन्तर वर्षा भइरहेमा जिल्लाका धेरै स्थानका बासिन्दा विस्थापित हुन सक्ने सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले बताउनुभयो ।

बुढी खोला, टें्यग्रा खोला, खेती खोलामा आएको बाढीले बस्तीमा पसेपछि इटहरीका वडा नं ८, १० र ११ डुबानमा परेका छन् । नदी तथा खोला किनारका स्थानीवासीलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ६५५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताउनुभयो । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म पानीको बहावलाई सामान्य मानिन्छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५६३ परिवार विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर