खुशीको खबर : अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु — OSNepal

खुशीको खबर : अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु

LC (KTM) July 18, 2021 0

काठमाडौँ, ३ साउन – नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।

यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन शुरु गरिएको बताउनुभयो । उहाँले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिनुभयो ।

कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करीब रु ३२ करोड लगानीमा औषधि उत्पादन शुरु गरिएको हो । उहाँले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताउनुभयो ।

कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको जिएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको नेपालकै नमूना कम्पनी भएको जिकिर गर्नुभयो । “क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, अर्को कुरा हाम्रो कम्पनीमा नवीनतम् र अत्याधुनिक प्रविधि जडान भएका छन्”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताउनुभयो । सो अवसरमा टिजिङ्ग कम्पनीले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिको समेत अनावरण गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर