गण्डकी प्रदेशसँग गढीमाईलाई जोड्नुपर्नेमा जोड — OSNepal

गण्डकी प्रदेशसँग गढीमाईलाई जोड्नुपर्नेमा जोड

Kesh Karki (USA) September 05, 2021 0

गत बुधबारदेखि पोखरा–सिमरा सिधा उडान भएसँगै प्रदेश नं २ को प्रसिद्ध पर्यटकीय तीर्थस्थल गढीमाईसँग गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल जोडिने अपेक्षा गरिएको छ ।भारतीय धार्मिक पर्यटकको अत्याधिक आवागमन हुने बाराको महागढीमाई नगरपालिका बरियारपुरमा पर्ने गढीमाईमा आएका पर्यटकका लागि सिधा उडानसँगै झण्डै पोखरा आउन १० घण्टाको स्थलमार्ग हुँदै आउनुपर्ने बाध्यता २६ मिनेटमा सीमित भएको छ ।भारतीय दर्शनार्थीले अत्याधिक रुचाएको गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथलगायतका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थल पोखरा—सिमरा सिधा उडानसँगै उनीहरूका लागि पुग्न सहज भएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताउनुभयो ।

सिधा उडानसँगै नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा गत बुधबारदेखि शुक्रबारसम्म तीन दिने आन्तरिक पर्यटन पुर्नरुत्थान कार्यक्रमसहित आफूहरूले गढीमाईलगायत त्यस क्षेत्रका पर्यटकीयस्थलको अवलोकन एवं सरोकारवालाबीच छलफल तथा अन्तक्र्रिया गरेको उहाँले जानकारी दिनुभयो ।“अवलोकन भ्रमण एवं अन्तक्र्रियाका क्रममा त्यहाँका पर्यटन व्यवसायी पनि सिधा उडान सुरु भएकामा उत्साहित भएको पायौँं”, आन्तरिक पर्यटन पुर्नरुत्थान कार्यक्रका संयोजक अधिकारीले भन्नुभयो, “लाखौं भारतीय पर्यटकले दर्शन गर्न आउने गढीमाईसँग आगामी दिनमा पोखरासहित गण्डकीका धार्मिक पर्यटकीय तीर्थस्थल जोडिने अपेक्षा गरेका छौं ।”कार्यक्रममा सहभागी गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेलले गढीमाईको धार्मिक एवं सांस्कृतिक महत्वका कारण यस क्षेत्रमा आउने पर्यटकलाई पोखरासहित यहाँका धार्मिक पर्यटकीयस्थलमा पोखरा—सिमरा उडानले सहज पहुँच बनाएको बताउनुभयो ।

धार्मिक पर्यटकीयस्थलमा पनि एकापसको साझेदारीमा अधिकतम दर्शनार्थीलाई आवतजावत् गराउन सकिने उल्लेख गर्दैै उहाँले पोखरा—सिमरा सिधा उडानले दुवै स्थानका धार्मिक पर्यटकीयस्थलमा सर्वसाधारणको पहुँच बढाइएको जानकारी दिनुभयो ।धार्मिक एवं सांस्कृतिक रुपमा गढीमाईको ठूलो महत्व छ । गढीमाईको स्थापना सिम्रौनगढका तिरहुतेहरूको समयमा भएको मानिन्छ । बाराको सदरमुकाम कलैयाबाट करिब पाँच किलोमिटर पूर्वस्थित यो मन्दिरमा प्रत्येक पाँच वर्षमा ठूलो मेला लाग्ने गरेको महागढीमाईका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार सो मेलामा संसारमै सबैभन्दा बढी सङ्ख्यामा पशुबलि दिने गरिन्छ । नेपालमा मात्र नभएर उत्तर भारतमा समेत गढीमाईको ठूलो ख्याति रहेको जनाउँदै उहाँले लाखौंको सङ्ख्यामा भारतीय तीर्थयात्री बलि दिन, पूजाआजा गर्न यस क्षेत्रमा आउने गरेको बताउनुभयो । विशेषतः राँगा, बोका, सुङ्गुर, मुसा र परेवा गढीमाईमा बलि दिइने प्रमुख पशुपक्षी हुन् ।

यस तीर्थस्थलको स्थापनाका बारेमा विभिन्न किम्बदन्ती छन् । किम्बदन्ती अनुसार कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुरगढीमा बन्दीका रूपमा थुनिएछन् । उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन् । ती कैदी त्यही रात जेलबाट छुटेछन् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन् । त्यसपछि गढीमाईमा तिनै व्यक्ति पूजारी रहेको र हालसम्म पनि तिनकै सन्तान पूजारी रहेको महागढीमाई–१ का वडाध्यक्ष सुदामा शाह कानुले जानकारी दिनुभयो ।

त्यस्तै अर्को किम्बदन्ती अनुसार सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यहीँ आएर बास बसेछन् । उनीहरूले साथमा लिएर हिँडेकी तुलजादेवीको एउटा अंश गढीमाई क्षेत्रमै रहेको विश्वास गरिन्छ । पर्यटकीय नगरी पोखराबाट सिमरा सिधा हवाई सम्पर्क हुनुले गढीमाई आउने धार्मिक पर्यटकलाई गण्डकीको पोखरासहित त्यस क्षेत्रका धार्मिक पर्यटकीय तीर्थस्थल पुग्न सहज हुने भएकाले आगामी दिनमा धार्मिक पर्यटकीय गतिविधि बढेर जाने नगर प्रमुख यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार १० बिघा क्षेत्रफलमा फैलिएको गढीमाई क्षेत्रलाई गढीमाई ट्रष्ट विकास समिति गठन गर्दै त्यसमार्फत पूर्वाधार विकास अघि बढाउने लक्ष्य रािखएको छ । गढीमाईमा प्रत्येक पाँच वर्षपछि मङ्सिरमा लाग्ने एक महिने मेलालाई व्यवस्थित गर्न गढीमाई मन्दिर तथा मेला कार्यविधि तयार गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

मेलाका अवसरमा सेतो मुसा, पाठो सुङगुर र राँगाको बलि दिइन्छ । मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तलाई पूजा तथा बलिका लागि अनुमति दिने प्रचलन रहेको स्थानीयवासी नागेन्द्र राउत बराइले जानकारी दिनुभयो । एकै पटक सबैभन्दा धेरै सङ्ख्यामा राँगाको बलि दिइने स्थानका रुपमा यसले चर्चा पाएको उहाँले बताउनुभयो ।भारतीय पर्यटकको अत्याधिक आवागमन हुने गढीमाईसँग पोखरासहित गण्डकीका धार्मिक पर्यटकीयस्थल जोड्नु अपरिहार्य भएको नाट्टा गण्डकी प्रदेशका कोषाध्यक्ष एवं फिष्टेल होलडेज प्रालिका सञ्चालक राजेश पहारीले बताउनुभयो । पोखरा—सिमरा सिधा उडानले गढीमाईसम्म आएका धार्मिक पर्यटकलाई सहजै पोखरा पु¥याउन सकिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर