चितवनमा कोरोनाको खोप लगाउनेको संख्या न्यून — OSNepal

चितवनमा कोरोनाको खोप लगाउनेको संख्या न्यून

LC (KTM) November 17, 2021 0

जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९७७ रहेको छ । पहिलो मात्रा कोभिडसिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिका ४० हजार ९५७ जनाले लगाएको उहाँले जानकारी दिनुभयो ।

पूर्ण मात्रा लगाउनेमा कोभिसिल्डका ५८ हजार ३२१ र भेरोसेलका एक लाख ६३ हजार ८८ जोन्सन ३८ हजार ५६८ जना रहेका छन् । जिल्लामा २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीन लाख ६८ हजार ३८२ छ । यस समययता पाँच हजार हाराहारी फोटो खिचेर नाम दर्ता गराउने प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्य पालिकाहरुमा ठूलो सङ्ख्या भएमा खोप लगाइने उहाँले बताउनुभयो । अन्यथा एक–दुईजना भएमा यहीँ आएर बिहीबार लगाउने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरुको खोजी गर्नुपर्ने दिन आएको छ ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार महानगरपालिकामा ५५ प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुलाई साताको एक दिन खोप लगाउने व्यवस्था गरिएको छ । छुटेकाहरुलाई खोप लगाउन महानगरपालिकाले अनुरोध गर्दै आएको छ ।

खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीले पहिलो मात्रा खोप लगाउन माग गर्नेको सङ्ख्या खासै नभएको बताउनुभयो । कतिपयले जोनसोन खोप लगाउन चाहेको भए पनि अन्य खोपका लागि माग नभएको बताउनुभयो । उहाँका अनुसार ८० प्रतिशतभन्दा बढी नगरवासीले खोप लगाइसकेका छन् ।

परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहाल ग्रामीण क्षेत्रहरुमा खोपका लागि अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खोज र खोपको अभियान सञ्चालन गर्नुपर्छ ।” ग्रामीण क्षेत्रमा पछाडि परेका समुदायहरु खोप लगाउनबाट छुटेको जनाउँदै उहाँले उनीहरुलाई लक्षित गरी पालिकाहरुले कार्यक्रम ल्याउनुपर्ने जानकारीदिनुभयो ।

काठमाडौँमा चार ठाउँमा अभियानमार्फत खोप केन्द्र सञ्चालन गर्दा दुई दिनमा ६ हजारले खोप लगाएको उदाहरण दिँदै उहाँले अभियान नै चलाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर