छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा सात मेट्रिकटन फोहर — OSNepal

छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा सात मेट्रिकटन फोहर

LC (KTM) November 14, 2021 0

काठमाडौँ- काठमाडौँ उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वाग्मती सफाइ महाअभियानले सफाइ गरेको छ । छठ मनाएपछि सफा भइनसकेको उक्त क्षेत्रमा महाअभियानको ४४४औँ हप्ताका अवसरमा आज सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । सो क्षेत्रबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ ।

सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । तिलगङ्गा महिला समूह, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासीलगायतको पनि सफाइ अभियानमा संस्थागत सहभागिता थियो ।

सुन्दरीजलमा डाँडा सम्याउँदा नदी प्रदूषित-
यसैगरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा वाग्मती नदीको किनारसँग जोडिएको डाँडाको जमिन सम्याउने क्रममा नदीमा माटो हालिएकामा महाअभियानले आपत्ति जनाएको छ । माटो व्यवस्थापन गरी नदी फोहर नगर्न आज सरोकार भएका निकाय र समूह सहमत भएको अभियानकर्मी शाहीले बताउनुभयो ।

आजै गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको दुवै भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथलगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि महाअभियान जारी छ । महाअभियानअन्तर्गत प्रत्येक महिनाको शनिबार बिहान दुई घण्टा ‘देशका लागि दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ भइरहेको छ ।

चाडपर्व, जाडो, गर्मीलगायत प्रतिकूल अवस्थामा पनि महाअभियान रोकिएको छैन । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर नै उपत्यकामा यसका सहायक नदी सफाइ सुरु भएको छ । हाल उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी, सांस्कृतिक सम्पदामा पनि सफाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर