जनकपुरधामको देवपुरा रुपैठामा ३२ घण्टा निषेधाज्ञा — OSNepal

जनकपुरधामको देवपुरा रुपैठामा ३२ घण्टा निषेधाज्ञा

LC (KTM) November 13, 2021 0

जनकपुरधाम, २७ कात्तिक – केही उच्छृङ्खल तत्त्वले सामाजिक साम्प्रदायिक सद्भाव बिगार्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामको केही भागमा निषेधाज्ञा जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा भन्ने ठाउँमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधित क्षेत्रमा कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी शनिबार दिउँसो २ बजेदेखि आइतबार राती १० बजेसम्मको लागि रोक लगाइएको छ ।

पूर्वमा जलाद नदीको कल्टी बाँधसम्म, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर