जनगणना टोली नेपाली बाटो हुँदै दार्चुलाको छाङरु र तिङ्करतर्फ — OSNepal

जनगणना टोली नेपाली बाटो हुँदै दार्चुलाको छाङरु र तिङ्करतर्फ

LC (KTM) November 21, 2021 0

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरू नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएका जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।

नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् ।

सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर, भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।

पाण्डेले भने, ‘‘गणक राजेन्द्र कार्की, सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलङ्गाबाट छाङरु र तिङ्करको जनगणना गर्न प्रस्थान गरेका हुन् । खलङ्गादेखि व्यास गाउँपालिका–२ दुम्लिङसम्म बाटो ठीक छ, दुम्लिङदेखि छाङरु र तिङ्करसम्म घर, पसल र मानव आवातजावत छैन ।’’

दुम्लिङभन्दा माथि जान सक्छन् कि सक्दैनन्, अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसँगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलसाथ खलङ्गाबाट टोली प्रस्थान गरेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयवासी भारतीय बाटो प्रयोग गर्दै दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्दै आएका छन् । तर, जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भने भारतले बाटो नदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर