जुम्लाकाे जुफालमा टिकटको सधैं सास्ती — OSNepal

जुम्लाकाे जुफालमा टिकटको सधैं सास्ती

LC (KTM) November 23, 2021 0

जाजरकोट, ७ मंसिर-फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । दुई दिनपछि बल्ल टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडाैं गइन ।

दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाइ मार्गबाट उडानका लागि होटलका सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्याे । दुई दिनपछि भए पनि टिकट पाएर नेपालगन्ज पठाउन सकेकाेमा हाेटल सन्चालक डाँगीले खुसी व्यक्त गरे । बुटवलका रमेश न्यौपानेले जुफाल विमानस्थलमा टिकटका लागि चार दिन धाउनु परेकाे बताए । उनले भने,‘चार दिनपछि निकै सकस गरेर टिकट पाइयो, आकाशमा बादल देखिन बित्तिकै यहाँ हिउँ पर्न सुरू हुँदोरहेछ । चिसोको मात्रा पनि धेरै रहेछ । अनलाइनबाट टिकट दिने व्यवस्था भए सजिलो हुन्थ्यो, तर यहाँ यात्रु धेरै हुँदा प्राथमिकताका आधारमा जहाजमा जान पाइदो रहेछ ।’

‘बिहान ४ बजेदेखि नै विमानस्थलको मूल ढोकामा टिकटका लागि यात्रुहरू लाइन बसिरहेका हुन्छन् । टिकट भए सबैलाई दिन मन हुन्थ्यो तर के गर्नु ?’ समिट एयरका प्रमुख पूर्णजंग शाहीले भने, ‘हामीसँग जम्मा १७ वटा सिट हुन्छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउदा भनेजति उडाउँन सकिँदैन । तर, पनि सक्दो मिलाउने काम भइरहेको छ ।’

उनका अनुसार समिटले दिनमा एक वटा जहाज डोल्पाका लागि उडान भर्ने गर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठुलै युद्ध जिते झैँ हुने यात्रुहरू बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगन्ज विमानस्थलमा र जुफाल विमानस्थलमा यात्रुहरूको चाप देख्दा अचम्ममा परेको बताए । उनले भने, ‘सडक मार्ग राम्रो भएको भए सायद हवाइ मार्गमा यति धेरै चाप हुने थिएन होला ।’

नेपालगन्ज-डोल्पाको भाडा नाै हजारभन्दा बढी छ । जुफाल-नेपालगन्जकाे भाडा पनि पाँच हजारभन्दा बढी छ । जति महंगो टिकट भए पनि भनेको बेला नपाउँदा यात्रुहरूले समस्या भोग्दै आएका छन् ।

डोल्पामा निजी क्षेत्रका समिट, ताराले दैनिक एक एक उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले डोल्पामा उडान नगरेको करिब दुई वर्ष पुग्नै लाग्याे । यात्रुहरूको चाप हेरेर उडान संख्या थप्नु पर्ने माग डोल्पाबासीको छ । जुफाल विमानस्थलकाे केही समयअघि स्तरउन्नती भएकाे थियो । तर, पिच गरेकाे दुई वर्ष नबित्दै धावनमार्ग चिरा, चिरा परेर अवतरणमा समस्य हुन थालेकाे विमान कम्पनीहरूले बताएका छन् ।

सडकको स्तरउन्नतीको ढिलाइले हवाइमार्ग रोजाइ
जाजरकोट-डोल्पा सडक खण्डको ११८ किलोमिटर लम्बाइ मध्ये १७ किलोमिटर सडकमा स्तरउन्नती सुरू भएकाे दुइ वर्ष भइसक्याे । तर, अझै पूरा भएको छैन ।

सडक खण्डको बीचमा रहेका १३ वटा पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण नै सुरू नहुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन् । सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ ।

रिम्नाबाट तल्लुसम्मकाे सडक स्तराेन्तती गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण कार्य पूरा गर्ने भनिएकाे थियाे । तर, यो वर्ष पनि निर्माण सम्पन्न हुनेमा स्थानीयले शंका गरेका छन् । निर्माणको गति हेर्दा यो वर्ष पनि पुल नबन्ने सम्भावना देखिएको डोल्पाका प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए ।

Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर