जैविक विधिद्वारा विषादी विस्थापनतर्फ पाँचखालका कृषक — OSNepal

जैविक विधिद्वारा विषादी विस्थापनतर्फ पाँचखालका कृषक

LC (KTM) November 18, 2021 0

काभ्रेपलाञ्चोक, २ मङ्सिर- पाँचखाल नगरका करिब एक हजार अगुवा कृषकले विभिन्न चरणमा १८ महिने एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुलाई समय र मौसमको तालिका मिलाएर २२ थरिका आइपिएम प्रविधि पढाउनुको एउटै उद्देश्य हो, तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखालको सबै क्षेत्रलाई जैविक विषादीको प्रयोगतर्फ प्रेरित गर्नुु ।

तरकारी तथा अन्य बालीमा विषादीको प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीका लागि समेत यो वर्ष सचेतना कार्यक्रम आयोजना गरिएको थियो । विद्यालय तहदेखि नै विषादीको प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षासहित उक्त कार्यक्रम गरिएको जनाइएको छ । पाँचखालमा १३ सामुदायिक र सात निजी माध्यमिक विद्यालय छन् ।

लभ ग्रीन नेपाल नामक संस्थाले मावि तहका विद्यार्थीलाई कक्षामै अनधिकृतरूपले विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि, पर्यायवरण तथा वातावरणमा पर्ने असरबारे श्रव्य–दृश्य तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको हो । “विद्यालय तहदेखि नै विषादीबारे सचेत गराउँदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्दै आएका हौँ”, उक्त संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भन्नुभयो, “पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्षअघिसम्म अनधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराएका थियौँ ।”

विषादी न्यूनीकरण अभियानमा कृषकको उत्सुकतासँगै जागरुकता पनि बढेको बताइन्छ । पाँचखाल नगरपालिका–१ चापागाउँका ३३ अगुवा कृषकलाई दिइएको प्राङ्गारिक मल निर्माणबारे तालिम केही महिनाअघि सकियो । त्यसअघि उनीहरुलाई हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रमा प्राङ्गारिक कृषिसम्बन्धी पुनर्ताजगी तालिमसमेत दिइएको थियो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण भइरहेका बेला पाँचखालको थप तीन वडामा आइपिएम तालिम दिन थालिएको लभ ग्रीनले जनाएको छ । जिल्लामा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालिम केही वर्षदेखि लभ ग्रीन नेपालले दिँदै आएको छ ।

विगत तीन वर्षदेखि उक्त संस्था वातावरणमैत्री एकीकृत दिगो विकास परियोजनाअन्तर्गत कृषकलाई तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान दुई वर्षदेखि निरन्तर प्रयासरत छ । पाँचखाल नपा–७ का शिवराज श्रेष्ठले तरकारीलगायत अन्य बालीमा रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्दै आउनुभएको छ । “जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईवस्तु थप्ने गरेको छु, गाईवस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो । कृषक श्रेष्ठले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि जैविक तरकारी (सुरक्षित उत्पादन)गर्दै आउनुभएको छ ।

अहिले कृषक तालिम पछि आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालिएकाले यहाँका तरकारीलगायत बालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेको बताइन्छ । पाँचखाल नपा–६ का कृषक सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर हुनाका साथै उत्पादन लागत कम हुँदै आएको छ”, कृषक केदारले भन्नुभयो । उहाँ आफ्नो खेतबारीको माटो समयसमयमा परीक्षणसमेत गर्दै आएको बताउनुहुन्छ ।

सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सेचतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । हाल यहाँ उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको रूपमा रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताउनुभयो । “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा सूचीकृत हुँदै आएको देखिन्छ”, उहाँले भन्नुभयो । कृषकहरु पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफूहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा लागिरहेका छन् । रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकामा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने अपेक्षा गरिएको छ ।

यहाँका कृषकलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबिपीआर ल्याव)मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्रा परीक्षण गर्न ल्याउन पनि सबैमा आग्रह गर्न थालिएको छ । केन्द्रमा करिब दुई बर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ । सङ्कलित नमूनाको विषादी रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ ।

बागमती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । काभ्रेपलाञ्चोसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबिपीआर ल्याब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर