ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण — OSNepal

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण

LC (KTM) January 03, 2022 0

गण्डकी, १९ पुस-नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराएको छ ।संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रमका ४५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट तथा आवश्यकताअनुसार टोपीका साथै राधाकृष्ण गुरुकुलका २३ जना बटुकलाई टोपी वितरण गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । उक्त अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित केलादीघाट घामको धार्मिक भ्रमण गराइएको थियो । केलादीघाट भ्रमणका क्रममा त्यहाँस्थित वृद्धाश्रममा बस्दै आएनुभएका ज्येष्ठ नागरिकका लागि १५ ज्याकेट र ४० वटा टोपी पनि वितरण गरिएको उहाँले बताउनुभयो ।

असहाय ज्येष्ठ नागरिकलाई केलादीघाटको भ्रमण गराइएको उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा प्रवद्र्धन गर्नु आवश्यक भएको बताउनुभयो । भ्रमणका क्रममा केलादीघाटमा आयोजित कार्यक्रममा चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले केलादीघाटको ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको जनाउँदै यसको प्रवद्र्धन अपरिहार्य भएकामा जोड दिनुभयो ।

राधा दामोदर मन्दिर सञ्चालक समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले पौराणिकरुपमा समेत यस मन्दिरकोे विशेष महत्व रहेको बताउँदै यसको प्रचारप्रसार हुन नसकेको बताउनुभयो । समितिका सचिव घनश्याम खनालले २००८ मा राधा दामोदरको मन्दिर निर्माण भई मानवता र अहिंसाको सन्देशसहित आध्यामिक जागरण ल्याउन यस मन्दिरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा चापाकोट नगरपालिका–६ का वडाध्यक्ष एकदेव भट्टराई, ७ का वडाध्यक्ष रविचन्द्र बस्ताकोटी, घिरिङ गाउँपालिका–१ का वडाध्यक्ष गङ्गाराम कुमाल, मन्दिर सञ्चालक समितिका उपाध्यक्ष तीर्थराज अधिकारीलगायतले केलादीघाट क्षेत्रको धार्मिक महत्वलगायतमा प्रकाश पार्नुभयो । भ्रमणका क्रममा उक्त क्षेत्रको रामघाट क्षेत्रको अवलोकनसमेत गरिएको थियो । केलादीघाट र रामघाट क्षेत्र एक अर्कामा अन्तरसम्बन्धित रहेको बताउँदै रामघाट धामका महन्त प्रकाश गिरीले यी क्षेत्र प्रचारप्रसारको पर्खाइमा रहेको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर