झापाको एक बोर्डिङ्गमा होमवर्क नगरेको निहुँमा बिद्यार्थीलाई एक शिक्षकद्धारा मरणासन्न हुने गरी कुटपीट — OSNepal

झापाको एक बोर्डिङ्गमा होमवर्क नगरेको निहुँमा बिद्यार्थीलाई एक शिक्षकद्धारा मरणासन्न हुने गरी कुटपीट

LC (KTM) December 02, 2021 0

झापाको एक बोर्डिङ्ग स्कुलमा बिद्यार्थीलाई होमवर्क नगरेको भन्दै एक शिक्षकले निर्घात कुटपिट गरेका छन् । बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले कक्षा ३ मा पढ्दै गरेका ९ बर्षीय बालक अबिरल तिम्सिनालाई निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक पोखरेलले बुधबार गृहकार्य नगरेको भन्दै बाँसको लट्ठीले बालकलाई निर्घात कुटपिट गरेका थिए । शिक्षक पोखरेलको कुटाइबाट तिम्सिनाको तिघ्रा, गाला र ढाडमा नीलडाम नै बसेको स्पष्ट देखिन्छ । बालककी आमा अन्जनाले होमवर्क राम्रो संग नगरेको निहुँमा मरणासन्न हुने गरी कुट्नु राम्रो नभएको भन्दै शिक्षकलाई जसरी भए पनि कारबाही हुनु पर्ने बताइन् ।

तर यस घटनालाई सामसुम बनाउने प्रयास भएको भन्दै केही अभिभावकहरुले असन्तुष्टि समेत जनाएका छन् । वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ । यता शिक्षक पोखरेलले अत्यन्तै नराम्रो काम गरेको भन्दै विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले पीडित पक्षसँग गल्ती स्वीकार गरीसकेको बताए ।

उनले आइन्दा अब आफ्नो स्कुल भित्र यस्तो घटना दोहोरिन नदिने बताए । कुटपिट गर्ने शिक्षकलाई बुधबार नै विद्यालयबाट हटाइएको पनि उनले बताए । पोखरेललाई जिल्लाका कुनै विद्यालयमा काम नपाउने गरी प्याब्सन एनप्याब्सनलाई पत्र पठाउने सहमति जुटेको बिर्तामोड–५ का वडा सदस्य लक्ष्मी बाँस्कोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर