झापामा निजी अस्पतालहरुले धमाधम कोरोना सङ्क्रमितको उपचारमा आइसियूसहितका कक्षहरु छुट्याए — OSNepal

झापामा निजी अस्पतालहरुले धमाधम कोरोना सङ्क्रमितको उपचारमा आइसियूसहितका कक्षहरु छुट्याए

LC (KTM) May 10, 2021 0

झापा, २७ वैशाख- झापामा निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का सङ्क्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरु छुट्याएका छन् । सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् ।

विर्तामोडस्थित विएण्डसी अस्पतालले २०० शय्या, विर्तासिटी अस्पतालले २५ शय्या, मनमोहन सामुदायिक अस्पतालले १० शय्या र दमकस्थित लाइफलाइन अस्पतालले ३० शय्या गरी कूल २७५ शय्याको व्यवस्था गरेका छन् । हाल विएण्डसी अस्पताल र विर्तासिटीले कोडिभ सङ्क्रमितका उपचार गरिरहेका छन् भने मनमोहन र लाइफलाइनले पनि तयारी शुरु गरेका छन् । जिल्लामा सङ्क्रमितको सबैभन्दा बढी उपचार गर्ने विएण्डसी अस्पताल रहेको छ । दमकको सबैभन्दा पुरानो निजी अस्पताल हो लाइफलाइन । अस्पतालको चौथो ब्लकमा आइतबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवासहित कोभिडका बिरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।

अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराईले शय्या क्षमताअनुसार कसैलाई विभेद् नगरी अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना लिइने बताउनुभयो । यो विषम परिस्थितिमा यस क्षेत्रका कोभिडका बिरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर