टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित — OSNepal

टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित

LC (KTM) December 29, 2021 0

तेह्रथुम, १४ पुष – तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे,मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो ।

खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए ।उनका अनुसार चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ ।

‘बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । पशुचौपया चरनमा नै कति हराएका छन् । सडकमा सवारीसाधन गुड्न समेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु यात्रा गर्न झनै समस्या भएको छ,’ उनले भने ।

घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन् । हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ ।

यहाँका नागरिक आगो तापेर घरमै बस्नुको विकल्प नरहेकाे स्थानीय छिरिङ शेर्पाले बताए । यस क्षेत्रमा हिउँ पर्दा छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । तर,हिउँ परिरहेकोले यात्रा गर्न समस्या भएको छ ।

खासगरी यहाँ पर्यटक हिउँ खेल्न र गुराँस फुल्ने सिजनमा गुराँसले रंगिएको वनमा रमाउने गरेका छन् । गुराँसको राजधानीको रुपमा चिनिएको तिनजुरे,मिल्के र जलजले पर्यटकीय रुपमा परिचित नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर