टीकाराम भट्टराईलाई पाँच प्रश्न : ‘चाेलेन्द्ररहीत अदालत नै नेपाल बारकाे बटमलाइन हाे' — OSNepal

टीकाराम भट्टराईलाई पाँच प्रश्न : ‘चाेलेन्द्ररहीत अदालत नै नेपाल बारकाे बटमलाइन हाे’

LC (KTM) November 15, 2021 0

काठमाडाैं, २९ कात्तिक-नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् ।

न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश राणाको राजीनामा भन्दै आएका भट्टराई त्यसपछि अन्य सुधारका कार्यक्रम अघि बढ्ने बताउँछन् । तर, प्रधानन्यायाधीशले राजीनामा नदिने अडान लिएको, दलहरु महाभियोगका लागि तयार नभएको र इजलास सञ्चालन हुनुपर्ने पक्षमा सेतोपट्टी र अन्य प्रदर्शन भइरहेका बेला बारको आन्दोलन कसरी अगाडि बढ्छ भनेर न्युज कारखानाले भट्टराईलाई पाँच प्रश्न गरेको छ:

बारको आन्दोलन कसरी अघि बढिरहेको छ ?

बारको आन्दोलन आफ्नो घोषित लक्ष्य र उद्देश्यका साथ आवश्यकताअनुसार कहिले संयम र कहिले परिस्थितिले ल्याएको बाध्यात्मक अवस्थाका कारणले केही उत्तेजित हुँदै अगाडि बढिरहेको छ । आन्दोलनको समीक्षा गर्दा यदाकता यो आन्दोलनको विपक्षमा रहेका कानुन व्यवसायी मित्र पनि अहिले बारको आन्दोलनको पक्षमा आउनुभएको छ । कतिपयलाई बारले यसका माग र नाराहरु बुझाउन नसकेकाले केही साथीमा अलमल र द्विविधाको अवस्था देखिएको थियो ।

केही केही असन्तुष्टिका स्वर सुनिएका थिए । अहिले ती स्वर मथ्थर भएका छन् । आम कानुन व्यवसायी प्रभावकारी ढंगले बारको आन्दोलनमा सहभागी भइरहनुभएको छ । आन्दोलन उपत्यका नाघेर आइतबारदेखि देशभरका सबै अदालतमा १० देखि १२ बजेसम्म कालोपट्टिका साथ धर्ना कार्यक्रम सुरू भएको छ । यसले देशव्यापी आकार ग्रहण गरेको छ ।

बारको आन्दोलन मुख्यत: के का लागि ?

आन्दोलन न्यायापालिकाको समग्र सुधारका लागि हो । यो भित्र हामीले तीन चारवटा कुरा भनेका छौं । पहिलो विचौलिया र भ्रष्टाचारको अन्त्यका लागि, दोस्रो प्रधानन्यायाधीशको मनोमानीपूर्ण ढंगले मुद्दा तोक्ने स्वेच्छाचारी प्रवृत्तिको विरुद्धमा, तेस्रो प्रधानन्यायाधीशले प्रभावकारी ढंगले न्याय प्रशासन र सम्पादन सञ्चालन गर्न नसकेको, चौथो प्रधानन्यायाधीशले आफ्ना सम्पूर्ण सहयोगीहरुको विश्वास गुमाएर पनि जबरजस्त पदमा आसिन भइरहेको हुनाले त्यसको विरुद्ध र पाँचौं न्यायमा अवरोध सिर्जना गरेकाले न्यायको अवरोध हटाउनका लागि हामीले यो आन्दोलन गरिरहेका छौं ।

न्यायमा अवरोध कसरी गर्नुभयो भन्दा पहिलो त आफ्नो स्वार्थ बाझिएका मुद्दा जसरी पनि आफैं हेर्ने जिद्दी र लहड सिर्जना गर्नुभएको छ । दोस्रो उहाँले कार्यकारीसँग बसेर हिस्सेदारी खोज्नुभएको छ र त्यो हिस्सेदारी लिएर गरिएका नियुक्तिका विरुद्धमा परेका मुद्दा ११ महिनासम्म प्रारम्भिक सुनुवाइहरु गरिराख्नुभएको छैन । अर्को उहाँले आफ्नो स्वार्थ जोडिएका मुद्दा, आफन्त, नातागोता र बिचौलियाबाट प्रभावित भएका मुद्दा चाँडो चाँडो पेशीमा राख्ने र छिन्ने, आम जनताका धेरै पूराना मुद्दाहरु पेशीमा नराख्ने गरिरहनुभएको छ ।

यसरी उहाँले न्यायमा अवरोध सिर्जना गरेकाले समग्रमा न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार, बिचौलियाको विरुद्धमा र न्यायमा अवरोध गरिराखेको हुनाले यी सम्पूर्ण कुराको विरुद्धमा हामीले यो आन्दोलन सुरू गरेका हौं ।

पहिलो बिन्दुमा प्रधानन्यायाधीशको राजीनामा माग गरेका छौं । माथि भनेका सबै विषय लागु गर्न उहाँ अनिच्छुक हुनुभयो । उहाँमा लागु गर्नसक्ने क्षमता पनि भएन । सहयोगीको विश्वास गुमाउनुभयो । त्यसकारण न्यायपालिका सुधारको प्रारम्भिक बिन्दु उहाँको राजीनामा हो । तर उहाँको राजीनामा पछि पनि हाम्रो सुधारका कार्यक्रमहरु, योजनाहरु बाँकी नै रहन्छन् ।

त्यसपछि जो व्यक्ति प्रधानन्यायाधीश भएर आउँला त्यसले पनि हाम्रा मागहरु सम्बोधन गरेन भने त्यसपछाडि पनि आन्दोलनमा होमिनुपर्नेछ । हाम्रो अन्तिम उद्देश्य भनेको स्वतन्त्र, सक्षम, प्रभावकारी र भ्रष्टाचारमुक्त न्यायपालिकाको सिर्जना गर्नु हो । यो काममा जस जसले अवरोध सिर्जना गर्छन् ती अवरोधलाई हटाउँदै हामी अगाडि बढ्छौं ।

तपाईँले न्यायालय शुद्धीकरणका लागि प्रन्याले राजीनामा दिनुपर्ने भन्नुभयो । केही समूह जस्तै सेतो पट्टी बाध्ने, बानेश्वर, माइतीघरमा न्यायालय सूचारु गर्नुपर्ने, प्रधानन्याधीशले राजीनामा दिँदैमा शुद्धीकरण नहुने, न्यायाधीशहरु इजलासमा फर्किनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । आन्दोलन त विभाजन भयो नि ?

माइतीघर मण्डला वा अन्त कतै बस्ने विभिन्न खालका साथी छन् । एउटा भ्रमवश नबुझेर नेपाल बारविरुद्धमा गएका साथी छन् । एक खालका साथी विचौलियाको पैसा लिएर, प्रभावित भएर बिचौलिया र भ्रष्टाचारलाई निरन्तरता दिने गलत उद्देश्यका उपस्थित भएका छन् ।

माइतीघरमा बारको आन्दोलनको विपक्ष र असन्तुष्टिमा रहनुभएका साथीलाई हाम्रो आह्वान छ, बारको आन्दोलनलाई साथ र सहयोग दिनुपर्छ । केही कुरा बुझ्नुभएको छैन, असन्तुष्टि छन् भने तपाईँले बार परिसरभित्रै, आफ्नो घरभित्रै बसेर राख्नुपर्छ भनेर आह्वान गर्न चाहन्छौं । त्यहाँभित्र असल आशयका साथ भ्रमवश केही साथी लाग्नुभएको छ । जो मानिसहरु भाडाको पैसा लिएर त्यो आन्दोलनमा लागेका छन् त्यस सम्बन्धमा नेपाली जनताले पहिचान गर्नेछन् । तिनलाई हाम्रो भन्नु केही पनि छैन ।

प्रधानन्यायाधीशले राजीनामा दिन्न भन्ने, दलहरु महाभियोग ल्याउन तयार नहुने, कानुन व्यवसायी पनि विभाजित हुने, कसरी सफल हुन्छ आन्दोलन ?

महाभियोग भनेको प्राविधिक कुरा हो । गणितीय कुरा हो । नेपाली जनताले महाभियोग लगाइसके । राजनीतिक दलहरुले महाभियोग गणितीय र प्राविधिक रुपमा नलगाए पनि यत्रो नेपाली जनता, नागरिक समाज, प्रेस, बार, आफ्नै सहयोगी सबै न्यायाधीशले प्रधानन्यायाधीशविरुद्धमा अभियोग लाइसकेको हुनाले त्यो महाभियोगको प्राविधिक कुरामा नअलमलिऔं ।

महाभियोगभन्दा अघि बढिसकेको परिस्थिति, जनदबाबको भरमा न्यायका पक्षधरको आवाजका भरमा उहाँ बहिर्गमन हुन बाध्य हुनुहुन्छ । उहाँले नैतिक, कानुनी, वैधता सम्पूर्ण रुपमा गुमाइसक्नुभएको छ । यो निभ्ने बेलाको वत्तीजस्तै हो । जसरी हाम्रो आन्दोलन भइरहेको बेलामा केही भाडाका मान्छे ल्याएर उफारियो त्यसले पनि निभ्ने बेलाको वत्तीको संकेत गरिरहेको छ ।

यो आन्दोलनमा केही सेवाग्राहीलाई दु:ख भएको छ । हामीले त्यो कुरा बुझेका छौं । सेवाग्राहीसँग क्षमायाचना पनि गरेका छौं । तर केही दिनको दु:ख सम्झेर भए पनि यसपछाडि न्यायपालिकाभित्रको विसंगति र विकृतिलाई अन्त्य गर्नका निम्ति हामीलाई आम नागरिक सेवाग्राहीले साथ दिइरहनुभएको छ । यो लामो जाँदैन । कानुन, नैतिक, संवैधानिक सम्पूर्ण रुपले उहाँ पराजित भइसक्नुभएको छ र निभ्ने बेलाको वत्तीमात्रै हो ।

तर, तपाईँहरुको आन्दोलनलाई वेवास्ता गर्दै प्रधानन्यायाधीश चोर बाटोबाट छिर्नुभएको छ । इजलास तोक्नुभएको छ । सुनुवाइ तथा आदेश गर्नुभएको छ । उहाँलाई रोक्न अब तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ ?

उहाँ जसरी आउनुहुन्छ आन्दोलनका कार्यक्रम तदअनुरुप नै निर्धारण हुन्छन् । अब प्रधानन्यायाधीश आफ्नो अदालतमा मुख्य गेटबाट प्रवेश गर्न नसक्ने अवस्था कति दिन रहला ? आफ्ना न्यायाधीशसँग इजलास सञ्चालन गर्न नसक्ने अवस्थामा उहाँ कति दिन रहन सक्नुहोला ? अन्तर्राष्ट्रिय जगतमा आज प्रश्न उठिसकेकोमा यी प्रश्नलाई वेवास्ता गर्दै उहाँ कति दिन रहन सक्नुहोला ? त्यसकारण उहाँले चोर बाटोबाट अब अदालत प्रवेश गर्न पनि धेरै दिन सक्नुहुने छैन । त्यसमा हामी विश्वस्त छौं ।

अहिलेको न्यायालयको गतिरोधको निकास के हो ?

निकास भनेको सर्वोच्च अदालतमा चोलेन्द्र शमशेर जबराको अनुपस्थिति । उहाँले मुद्दा नतोक्ने अवस्थाको सुनिश्चितता र उहाँको राजीनामा यो नै निकास हो । नेपाल बार एशोसिएसन अब यो भन्दा पछाडि फर्केर कुनै सम्झौता गर्ने पक्षमा छैन । चोलेन्द्ररहित सर्वोच्च अदालत नै बारको अहिलेको माग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर