तनहुँबासीका लागि खुशीको खबर: जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया — OSNepal

तनहुँबासीका लागि खुशीको खबर: जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया

LC (KTM) January 15, 2022 0

तनहुँ, १ माघ – जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।सामान्य शल्यक्रियाका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । हड्डीको सफलरूपमा शल्यक्रिया गर्न थालिएपछि जिल्लावासी खुशी भएका छन् । उहाँले भन्नुभयो, “हप्तामा दुई दिन सोमबार र बिहीबार नियमितरूपमा शल्यक्रिया सञ्चालन गर्दै आएका छौँ ।”

हातको समस्यासहित उपचारका लागि पुगेका बिरामीको शल्यक्रियामार्फत हातमा प्लेट राख्न सफल भएको हो । डा विद्याभूषण ताम्राकार र डा रमेश घिमिरेले अस्पतालमा रहेको सिआर्म मेसिनको माध्यमबाट शल्यक्रिया गर्नुभएको हो । “अस्पतालमा अन्य सेवा सुविधा थप गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा अत्याधुनिक सेवासहितका आधुनिक उपकरण अस्पतालमा जडान गर्ने कार्य गरिएको छ ।”

चालु आवभित्र विशेषज्ञसहितका श्वासप्रश्वाससम्बन्धी उपचार सेवा सुरु गर्ने तयारी भइरहेको डा श्रेष्ठले बताउनुभयो । नेपाल सरकार र स्थानीयवासीको सहयोगले काम गर्ने थप ऊर्जा मिलेको छ । उहाँले भन्नुभयो, “सेवा र सुविधाका दृष्टिकोणले नमूना अस्पतालका रूपमा विकास गर्ने लागिएको छ ।”

गत आवमा नेपाल सरकारबाट रु सात करोड विनियोजन भएकामा अक्सिजन प्लान्ट, एचडीयू बेड, भेन्टिलेटरसहितको आइसीयूकक्ष र आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिनुभयो । यसवर्ष पनि ओपिडी भवन निर्माणका लागि रु एक करोड ५४ लाख विनियोजित भएकामा ई–टेण्डर खोलिसकिएको उहाँले बताउनुभयो ।

स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको हो । विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी विसं २०७३ साउन १ गतेदेखि औपचारिकरूपमा श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर