दमक-चिसापानी सडक : निर्माण कम्पनीले काम नगरेपछि पेटी ठेक्का दिने तयारी — OSNepal

दमक-चिसापानी सडक : निर्माण कम्पनीले काम नगरेपछि पेटी ठेक्का दिने तयारी

LC (KTM) January 10, 2022 0

झापा, २६ पुस-
निर्माण कम्पनीले कामै नगरेपछि झापाको दमकबाट इलामको चिसापानीसम्म पुग्ने दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि पेटी ठेक्का दिने तयारी भएको छ । निर्माण कम्पनीले पटकपटक म्याद थपेर पनि सडक अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय दमकले निर्माणका लागि दबाब दिएको थियो ।

सडक निर्माण गर्न नसक्ने भएपछि पेटी ठेक्का दिने तयारी भएको हो । उक्त सडकको पहिलो खण्ड अर्थात् सात किलोमिटर सडक पटकपटक म्याद थपिँदा पनि अलपत्र छ । यो सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी-किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजार ६२७ ठेक्का लिएको थियो । रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्रे मात्र गर्ने निर्माण कम्पनीको जिम्मा थियो ।

ठेक्का लिएको साढे तीन वर्षभन्दा धेरै हुँदा पनि ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । करिब ४४ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । यो सडकका लागि यसअघि कोभिडका कारण काम नसकिएको भन्दै दुईपटक म्याद थप भइसकेको छ । दोस्रोपटक थपिएको म्याद पनि आउँदो चैतमा सकिँदैछ ।

निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार सडक निर्माणका लागि दबाब दिँदा पनि का मगर्न नसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए । गत बर्खाबाट सडक निर्माणको काम पूणर्रूपमा ठप्प भएको उनले बताए । ‘काम अघि बढ्न नसकेपछि हामीले निर्माण कम्पनीलाई का मगर्न दबाब दिइरहेका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफूले नसक्ने भएपछि पेटी ठेक्का दिने तयारी गरेको जानकारी पाएको छु ।’

महालक्ष्मी-किरातेश्वर जेभीले का मगर्न नसकेपछि पेटी ठेक्का लुम्बिनी गणपति जेभीलाई दिने गरी छलफल अघि बढिरहेको छ । लुम्बिनी-गणपतिले दमक-चिसापानीको दोस्रो र तेस्रो खण्डको २६ किलोमिटर सडक निर्माण गरिरहेको छ । तल्लो खण्डको सडक निर्माण अलपत्र हुँदा सामग्री लैजानसमेत मुस्लि भएको भन्दै लुम्बीनी गणपतिले पेटी ठेक्का लिने तयारी गरेको हो ।

‘पेटी ठेक्का लिनका लागि छलफल भइरहेको छ । टुंगिएको छैन । केही नमिलेका विषय पनि छन्,’ लुम्बिनी-गणपतिका सञ्चालक तुलसीराम भण्डारीले भने, ‘त्यहाँ केही समस्या छन् । पहिलाको ठेकेदारले मोबिलाइजेसन चलाएको दुई करोड दिन सक्ने अवस्था छैन । त्यसले गर्दा त्यसको निकास निस्किएको छैन ।’

दमक-चिसापानी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेतवराज पुरीले भने दोस्रोपटक थपिएको समयमा काम सकिने बताए । ‘पहिलो खण्ड पनि माथिल्लो ठेकेदारले काम गर्ने गरी तयारी हुँदैछ । सायद सोमबार साँझसम्म सम्झौता हुन्छ होला,’ उनले भने, ‘तलदेखि माथिसम्म नै साउनसम्म सबै कालोपत्रे नै भइसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर