दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ — OSNepal

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

LC (KTM) October 23, 2021 0

दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् ।

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दसैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि दसैँ, तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्यरूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । गत वर्षको दसैँ, तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमणको अवस्था न्यून रहेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुला गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर