दिपायल विमानस्थल स्तरोन्नतिका लागि प्राविधिक टोलीद्वारा अध्ययन — OSNepal

दिपायल विमानस्थल स्तरोन्नतिका लागि प्राविधिक टोलीद्वारा अध्ययन

LC (KTM) January 15, 2022 0

डोटी, १ माघ-सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको स्तरोन्नति हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्तरोन्नतिका लागि रु १८ करोड बजेट विनियोजन गर्नुभएसँगै विमानस्थल स्तरोन्नतिका लागि अध्ययन गर्न टोली दिपायल आइपुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल वरपरको जग्गा अधिग्रहण गर्नुपर्ने जमिनको अवलोकन गरेको दिपायल विमननस्थलले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले दिपायल विमानस्थलको स्तरोन्नतिका लागि अध्ययन गरिरहेको बताइएको छ । टोलीले यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिका विषयमा राय–सुझाव मागेको दिपायलका स्थानीयवासी भरत द्वारियाले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले बजेट विनियोजन गर्नुभएसँगै विमानस्थल विस्तारका लागि अध्ययन टोली आएको छ, राय–सुझाव मागेको छ, अब त ठूलो जहाज चल्छ कि खुशी लागेको छ ।” विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणसहित रु १८ करोड बजेट विनियोजन भएसँगै यो विमानस्थलमा ठूलो जहाज चल्नेमा यहाँका नागरिक निकै खुशी भएका छन् ।

अनुगमनका लागि आउनुभएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्रीसी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थ्रीसी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजनाअनुसार काम अगाडि बढाउने योजना छ, उक्त काम सम्पन्न भए दिपायलमा ७२ सिटे जहाज उडाउन सकिने छ ।” हाल दिपायल विमानस्थलको धावनमार्ग (रनवे) जम्मा ४५० मिटर मात्र रहेकामा स्तरोन्नतिका लागि एक हजार २०० मिटर लम्बाइ चाहिने अध्ययन अनुगमनमा आएको प्राविधिक टोलीले जनाएको छ ।

धावनमार्गको दुवैतर्फ गरी १५० मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिनुभयो । धावनमार्गको हालको चौडाइ जम्मा ६५ मिटरमात्रै रहेको बताइएको छ । हाल विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुने तथा दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ । विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जमिन अधिग्रहणका लागि यहाँका नागरिकले पनि सहमति दिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । (रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर