दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिक भारत जान पाउने — OSNepal

दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिक भारत जान पाउने

LC (KTM) December 05, 2021 0

बैतडी, १९ मङ्सिर -भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । “भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उहाँले भन्नुभयो, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।”

भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर