दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज, विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइने — OSNepal

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज, विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइने

LC (KTM) November 22, 2021 0

काठमाडौँ- नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ । कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो । कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको जनाएका छन् ।

‘गत साल पनि हामीले महामारीकै बीचमा पनि भर्चुअल माध्यममा भए पनि फेस्टिभल गरेका थियौँ । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उनले भने, ‘ त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौँ ।’

दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् ।
नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने प्रिन्सिपल रामराजा दाहालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर