दोलखाको चिलखामा सुविधासम्पन्न अस्पताल निर्माण हुने, लोटिङवासी खुशीँले फुरुङ — OSNepal

दोलखाको चिलखामा सुविधासम्पन्न अस्पताल निर्माण हुने, लोटिङवासी खुशीँले फुरुङ

LC (KTM) November 28, 2021 0

दोलखा, १२ मङ्सिरः दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुट्ने बताइएको छ । अस्पताल चत्रलेश्वरी सामुदायिक स्वस्थ्य केन्द्र मातहत सञ्चालन हुने केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त भवनमा विभिन्न सुविधासम्पन्न मेसिन औजारहरु हुनाका साथै २१ कोठाको भवन हुनेछ । यो भवनको डिजाइन जर्मनका इञ्जिनीयर टोलीले नै गर्ने उहाँले बताउनुभयो । भवन निर्माणका लागि रु तीन करोड ८७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

हाल जर्मनमा बस्दै आउनुभएका छिरिङ शेर्पा र उस्की श्रीमती जर्मनी नागरिक चिकित्सक सोफिया तथा चिकित्सक क्लाउसको अग्रसरतामा उक्त भवन निर्माण गरिने केन्द्रका अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार अस्पतालका लागि आवश्यक पर्ने करिब साढे ६ रोपनी जग्गा उक्त संस्थाको नाममा ल्याइने छ । यसका लागि दुई रोपनी इको हिमाल र आधा रापनी जेनी खड्कले दान दिएको उहाँले बताउनुभयो ।

बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन गरिएको रकमबाट स्थानीय व्यक्तिहरुसँग खरिद गरिएको अध्यक्ष खड्काको भनाइ छ । अस्पताल निर्माण भएपछि जिल्लाका उत्तरी क्षेत्रका विगु गाउँपालिकाको वडा नं ५, ६, ७, ८ का १० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने गाउँ पालिकाको स्वास्थ्य संयोजक ईश्वर खड्काले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिल्लाको निकै विकट क्षेत्रमा यस प्रकारको अस्पताल निर्माण हुनु भनेको स्थानीय जनताका लागि निकै ठूलो र खुसीको विषय भएको बताउनुभयो ।

“अस्पतालको निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगमा हातेमालो गर्नु स्थानीय सरकारको गहन जिम्मेवारी र दायित्व हो”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा यस प्रकारको अस्पताल तथा स्वस्थ्य क्षेत्रको विकास हँुदै जाँदा मात्रै आफ्नो सरकार घरदैलोमा आएको स्थानीयवासीमा भान हुन्छ । ” सदरमुकाम चरिकोटबाट ४४ किलोमिटर उत्तरतर्फ सो अस्पताल निर्माण हुने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर