१२ कक्षाका विद्यार्थी सागरले बनाए ब्याक गियरसहितको मोटरसाइकल — OSNepal

१२ कक्षाका विद्यार्थी सागरले बनाए ब्याक गियरसहितको मोटरसाइकल

LC (KTM) November 22, 2021 0

रुपन्देही, ६ मङ्सिर -बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल आज प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद रु ५१ हजारसहित सम्मान गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललार्ई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको बताउनुभयो । उहाँले यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले समेत प्रोत्साहन गर्ने बताउनुभयो ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब रु एक लाख १० हजार खर्च गरेर मोटरसाइकल तयार गर्नुभएको हो । हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलले बताउनुभयो । ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ ।

हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्ने पोखरेलले बताउनुभयो । यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेको बताउनुभयो । पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ । पोखरेलको मनोबल बढाउन विद्यालयले आज सम्मान गरेको उहाँले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर