नारायणगढस्थित नदी किनार एमाले महाधिवेशनका लागी गरिदैछ यस्तो तयारी — OSNepal

नारायणगढस्थित नदी किनार एमाले महाधिवेशनका लागी गरिदैछ यस्तो तयारी

LC (KTM) November 19, 2021 0

चितवन, ३ मंसिर-नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ ।

महाधिवेशनमा लाखौँ जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर बनाउने काम भइरहेको छ । यस ठाउँमा चार खण्डमा मञ्च निर्माण हुने एमालेले जनाएको छ ।

चितवनमा १०-१२ मंसिरसम्म हुने महाधिवेशनको उद्घाटन सत्र १० मंसिरमा नारायणी नदी किनारमा हुने भएको हो । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओलीसहित स्थायी कमिटीका सदस्य र अतिथि बस्ने मुख्य मञ्च बीच भागमा हुने छ । त्यसको छेउमा भाषण गर्नका लागि छुट्टै खण्डको मञ्च बन्ने छ ।

मुख्य मञ्चको छेउमा केन्द्रीय सदस्य बस्ने र कलाकारले प्रस्तूति देखाउन छुट्टाछुट्टै मञ्च निर्माण हुने एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन स्वयम्सेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । ‘महाधिवेशनका लागि चार खण्डमा भव्य मञ्च निर्माण गर्दै छौँ । त्यसको लागि बुधबारदेखि खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ’, उनले भने ।

९ मंसिरको साँझसम्म मञ्च निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । एक पटकमा ७२ जना कलाकार सहभागी हुन मिल्ने गरी कलाकारका लागि मञ्च निर्माण हुने उनले बताए । ७२ जना कलाकारको आर्केष्टा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने उनले जानकारी दिए ।

मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मिलाइ सकेपछि प्राविधिकसहितको स्वयंसेवकको संख्या बढ्ने उनले बताए । मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ । चितवनतर्फ पर्ने नदी किनारमा डेढ लाख कार्यकर्ता मात्रै सहभागी हुन सक्ने श्रेष्ठ बताउँछन् ।

‘मञ्च निर्माण हुने नदी किनारमा डेढ लाख अटाउलान् । त्यसो भएकाले सहभागीलाई चितवन र नवलपुर दुवै तर्फको नदी किनारमा राख्छौँ,’ उनले भने, ‘टाढा बस्नेका लागि डिस्प्ले बोर्ड राख्छौँ । सहभागी आउने/जाने पनि भइरहने हुनाले पाँच लाख जनालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ ।’

महाधिवेशन स्थल र बजारका मुख्य चोक पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए । त्यसबाट सहभागीले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्ने उनको भनाइ छ । मञ्चमा राखिने साउण्ड सिस्टम र टेन्ट कहाँबाट ल्याउने भनेर अझै यकीन नभएको उनी बताउँछन् ।

महाधिवेशन उद्घाटन सत्र हुने दिनमा नदी किनारमा सञ्चालित ठेला व्यवसायहरु बन्द हुने भएका छन् । चितवनतर्फको नदी किनारमा अहिले ५० भन्दा बढी ठेला व्यवसाय सञ्चालनमा छन् । ठेला व्यवसाय यथास्थितीमा सञ्चालन हुँदा सहभागीलाई ठाउँ नपुग्ने भएकाले एक दिनको लागि व्यवसाय बन्द गर्न आग्रह गरिने उनले बताए ।

महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयम पार्टीले नै गर्ने उनले जानकारी दिए । फोहोर टिप्नका लागि पनि स्वयमसेवक खटाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर