निषेधाज्ञाका कारण धान खेतीका लागि किसानले पाएनन् रासायनिक मल — OSNepal

निषेधाज्ञाका कारण धान खेतीका लागि किसानले पाएनन् रासायनिक मल

LC (KTM) May 24, 2021 0

टीकापुर, १० जेठ – कोरोना सङ्क्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हँुदा किसान मारमा परेका छन् । किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउनुहुन्छ । ‘‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, म जस्तै धेरै किसान ढुक्क थिए’’, खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन । सहकारीले मल बिक्री गरिरहेका छैनन् ।

अब कसरी मलको जोहो गर्नु रु’’
गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन् । जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन् । मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताउनुभयो । ‘‘निधेषाज्ञा छ, मल पाउने टुङ्गो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन’’, प्रेमलालले भन्नुभयो, ‘‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनु पर्छ । नत्र उत्पादन घट्ने निश्चित छ ।’’

वर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन् । वर्षे धानका लागि मल बीउको जोहो गर्ने बेला यही होे । कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन् । विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ । किसानहरु रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि बिक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान बीरबल डगौराको भनाइ छ । ‘‘निषेधाज्ञा जारी रहोस् तर किसानलाई आवश्यक मल, बीउ, इन्धन सहज पाइयोस्, हामीलाई सहज हिड्ने वातावरण बनाइदिनुस्’’, डगौरा भन्नुहुन्छ, ‘‘अहिले सबैले ट्याक्टरको सहयोगमा खेत जोत्ने चलन छ । खेत जोत्न इन्धन पनि सहज र सबै समयमा उपलब्ध गराउनु प¥यो ।’’

किसानहरु महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने बताउँछन् । ‘‘मुलुकमा आिर्थक गतिविधि ठप्प छन् । मानिसको भोक मेट्ने भनेको उतपदनले हो । कृषि उत्पादन बढाउन बीउ, मल, सिँचाइ, खेती गर्न आवश्यक जनशिक्त जस्ता कुरामा सहयोग चाहिन्छ’’, किसान अगुवा रुपेश शर्मा भन्नुहुन्छ, ‘‘यी सबै पूर्वाधार जुटाउन, आवश्यक व्यवस्था गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । साथै किसानको उत्पादन बजारीकरणमा सघाउने काम पनि गर्नुपर्छ ।’’कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ । विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर