नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा पाण्डे — OSNepal

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा पाण्डे

LC (KTM) September 12, 2021 0

बागमती, २७ भदौ – नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको प्रदेशसभा सदस्य बसुन्धरा हुमागार्इँले जानकारी दिनुभयो ।

सदस्य हुमागाईँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको बताउनुभयो । “हामीले मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने जानकारी दिनुभयो । “भोलि हाम्रो गठबन्धनको बैठक बस्छ र प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ” उहाँले भन्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर