नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन : घिसिङ — OSNepal

नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन : घिसिङ

LC (KTM) December 02, 2021 0

काठमाडौं, १६ मंसिर – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् ।

‘नेपाली खेलकुदलाई अझमाथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्वीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढाछु,’ सदस्य सचिव घिसिङले भने ।

उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।

‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापि होइन,’ उनले भने ।

उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरे पनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउँदै यसमा सम्बन्धित संघ र प्रशिक्षकहरूले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

उनले प्रशिक्षकहरूलाई समय सापेक्ष परिष्कृत र स्तरवृद्धि गर्न रिफ्रेस कोर्स अति आवश्यक भएको बताउँदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाएर हुन्छ आवश्यक कदम चालिने बताए ।

उनले नतिजा मात्र खोज्नु भन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य सचिव घिसिङले सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउँदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह/सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा बृहत् राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक संख्यालगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।

मुख्य प्रशिक्षकहरूले खेल सामाग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्था बारे सदस्य सचिव घिसिङलाई अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर