पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु — OSNepal

पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

LC (KTM) November 19, 2021 0

पर्वत, ३ मङ्सिर- जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँका सातवटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएकोे हो । यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन् । १८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक ३० गते देखिनै खोप लगाउन थालिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत कात्तिक ३० र यही मङ्सिर १ गते महाशिलामा, मङ्सिर २ र ३ गते फलेवास नगरपालिका, पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा, मङ्सिर ५ र ६ गते कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा तथा मङ्सिर ७ र ८ गते जलजला गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ ।

कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलका अनुसार यो उमेर समूहका सबै नागरिकलाई खोप लगाउन जिल्लामा ३५ हजार ८०० डोज भेरोसेल खोप आएको छ । उक्त डोजले सबै नागरिकले खोप लगाउन पाउने भएका छन् । यो पहिलो डोज रहेको र एक महिनापछि अर्को डोज दिइने पनि कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्ष माथिका कूल ९३ हजार जनसङ्ख्यामध्ये अहिलेसम्म ४७ हजार १४६ ले खोप लगाइसकेको समेत कार्यालयले जनाएको छ । यही मङ्सिर ८ पछि १८ वर्ष माथिका सबै नागरिकले खोप पाइसक्ने पनि उहाँले बताउनुभयो । खोप अभियान सबै पालिकाका सबै स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर