पशुपालक किसानलाई ‘गोठालो भत्ता’ — OSNepal

पशुपालक किसानलाई ‘गोठालो भत्ता’

LC (KTM) November 19, 2021 0

मान्म, ३ मङ्सिर -कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक रु एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक रु दुई हजारका दरले गोठालो भत्ता दिदैँ आएको छ । सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताउनुभयो ।

“किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ ।” उहाँका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन् । त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान छ जना रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर