पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौँ हेक्टर जमिन सिँचाइविहीन — OSNepal

पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौँ हेक्टर जमिन सिँचाइविहीन

LC (KTM) November 22, 2021 0

झापा, ५ मङ्सिर- एक वर्षअघि पहिरोले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत नहुँदा एक हजार ७०० हेक्टर खेतीयोग्य जमिन सिँचाइविहीन बनेको छ । मेचीनगर नगरपालिका–१, २, ३ र ४ को एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिरोले गत वर्ष बगाएको थियो । यो वर्षको कात्तिकमा आएको बेमौसमी वर्षाले थप ५० मिटर नहर भासिएपछि समस्या झन् बढेको छ ।

झापाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला छेउमा पहिराले क्षति पु¥याएको थियो ।मर्मतसम्भार गर्ने बजेट अभावमा किसानहरु सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको र बजेट निकासाका लागि सम्बन्धित निकायमा बारम्बार पहल गर्दासमेत सुनुवाइ हुन नसकेको सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले गुनासो व्यक्त गर्नुभयो ।

नेपाल सरकारका तत्कालीन मुख्य सचिव डा भोजराज घिमिरेको पहलमा २०७२ सालमा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । नेपाल सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको थियो । पटकपटक मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य र सङ्घीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो । यद्यपि कतैबाट पनि बजेट उपलब्ध नहुँदा नहर प्रयोजनविहीन बनेको उहाँको गुनासो छ ।

तिबेला सुपारी, चिया, जैघाँस, तोरीलगायतका बालीलाई पानी चाहिन्छ । राज्यको ठूलो लगानीमा निर्माण भएको सिद्धिनहर बिग्रिएको र वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्या उत्पन्न भएको स्थानीय किसान रमा भण्डारीले बताउनुभयो । उहाँले छिटो नहरको मर्मत गरिनुपर्ने किसानको माग रहेको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर