पहिलो पटक किलिङ गाउमा बिजुली बल्यो — OSNepal

पहिलो पटक किलिङ गाउमा बिजुली बल्यो

LC (KTM) November 16, 2021 0

फुङ्लिङ, ३० कात्तिक -बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो । स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको बताउनुभयो । सो गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ । स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उहाँले जाकारी दिनुभयो । पापुङका वडाध्यक्ष डण्डु लामाले आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताउनुभयो ।

हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए । तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाका उपस्थितिमा आयोजनाको शुभारम्भका अवसरमा स्थानीयवासीले भव्य नाचगान गरेर खुसियाली नै मानाएका थिए ।

आयोजना निर्माण भएपछि त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै विगतदेखि नै कुटानी–पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङवासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताउनुभयो । उक्त आयोजनाका लागि रु ९६ लाख र स्थानीयको श्रमदानसमेत लगानी भएको छ । लागतको कूल रकमध्ये वडा कार्यालयको अनुदान रु ४९ लाख, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट रु १५ लाख रहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर