पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : सहमहामन्त्री डा महत — OSNepal

पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : सहमहामन्त्री डा महत

LC (KTM) November 25, 2021 0

काठमाडौँ, ९ मङ्सिर -नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताउनुभएको छ । काठमाडौँ जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणासभामा आज साँझ आयोजित कार्यक्रममा उहाँले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताउनुभएको हो ।

सहमहामन्त्री डा महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एकअर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिनुभयो । “नेताले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने संस्कृति बसाउनुपर्छ, जित्ने हार्ने दुवैले पार्टी, जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ, पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।

पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कार्कीले कांग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, ध्यानगोविन्द रञ्जित, सांसद भीमसेनदास प्रधानलगायतको उपस्थिति रहेको थियो । कार्की समूहबाट उपसभापतिमा धर्म अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागरदास रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिने हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर