पीएम कपः अपराजित पुलिस एक खेलअघि नै सेमिफाइनलमा — OSNepal

पीएम कपः अपराजित पुलिस एक खेलअघि नै सेमिफाइनलमा

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस । कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १५५ रनमा समेटिएपछि पुलिसले लगातार प्रतियोगितामा तेस्रो जित पाएको हो ।

कर्णालीका प्रकाश जैशीले रन आउट हुनुअघि ६८ रनको अर्धशतकीय इनिङ खेले । ४७ बलको मात्रै सामना गरेको प्रकाशले ६ चौका र ३ छक्का प्रहार गरे । दिवन पुन १७ रनमा अविजित रहँदा कप्तान रवीन्द्र शाहीले समेत १७ रन बनाए । यस्तै दिनेश अधिकारीले १५ रन बनाउँदा बिपीन रावलले १० रनको योगदान गरे ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान दुई विकेट लिए । यस्तै करण केसी, गुल्शन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४४ रनको विशाल योगफल तयार पारेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको शानदार इनिङ खेले । ३९ बलको मात्रै सामना गरेको कुशलले नाै चौका र तीन छक्का हिर्काएका थिए ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ रनको अर्धशतकीय इनिङ खेले । एक विकेट गएपछि क्रिजमा आएका दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै २८ बलमा नाै चौका र दुई छक्का प्रहार गरेका थिए । पुलिसका लागि विकेटकिपरसमेत रहेका दिलीप नाथले ३१, पवन सर्राफले २२, कप्तान मञ्जित श्रेष्ठले १९ तथा आरिफ शेखले १८ रन रनको योगदान दिए । टस हारेर बलिङमा आएको कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई-दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’ बाट तीन खेलमा सतप्रतिशत जितसहित पुलिसले ६ अंक बनाएर एक खेल अघिनै शीर्षस्थानमा रहँदै सेमिफाइनल यात्रा तय गर्‍याे । पराजित कर्णाली भने चार खेलबाट जम्मा दुई अंक जोड्दै चौथो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर