प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई — OSNepal

प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

LC (KTM) January 13, 2022 0

काठमाडौँ, २९ पुस -प्रधानमन्त्री शेरबाहदुर देउवाले विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएका प्रिन्स दाहाललाई बधाई दिनुभएको छ ।उहाँले आज सामाजिक सञ्जालमार्फत १९ वर्षीय ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई तथा आगामी दिनको शुभकामना दिनुभएको हो । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरियताअनुसार दाहाल पहिलोपटक शीर्षस्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार ५०० अङ्क रहेको छ ।

महासङ्घले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेशियाका जस्टिन होह हुनुहुन्छ । उहाँको नौ हजार ५९० अङ्क रहेको छ । यस्तै मलेशियाकै फाजरिक मोहमद रजिफ छ हजार ९२५ अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर