बन्दिपुरलाई मासु र दूधमा ‘हब’ बनाइँदै — OSNepal

बन्दिपुरलाई मासु र दूधमा ‘हब’ बनाइँदै

LC (KTM) November 30, 2021 0

तनहुँ, १४ मङ्सिर -बन्दिपुर गाउँपालिकाले गाउँपालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ । गाउँपालिकाले पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ । स्थानीयवासी छलिमाया श्रेष्ठले करिब रु एक करोड मूल्य बराबरको उन्नाइस आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी)को सहयोगमा रु एक करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले दूध प्रतिलिटर एकरुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिस दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिनुभयो । उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उहाँले बताउनुभयो । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूकोे आर्कषण बढ्दै गएको हो। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर