बाँझो जमीन उपभोग गर्नेहरुका लागि आयो खुशीको खबर — OSNepal

बाँझो जमीन उपभोग गर्नेहरुका लागि आयो खुशीको खबर

LC (KTM) July 04, 2021 0

चितवन, २० असार- जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतंीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् । माडीका दुई समूहले ४३० रोपनी र खनालले ८८ रोपनी बाँझो जमीनमा खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । उनीहरूलाई एक÷दुई दिनभित्रै रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार सरकारले गत आर्थिक वर्षदेखि बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिरोपनी रु दुई हजारका दरले अनुदान दिने नीति लिएको छ । सोही नीतिअनुसार अनुदान रकम वितरण गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँझो जमीनमा खेती गरेको प्रमाण अपुग भएका धेरै थिए प्रमाण पुगेकालाई अनुदान दिन लागेका हौँ ।”

जिल्लामा अहिले खेतीयोग्य जमीन ४४ हजार हेक्टर रहेको छ । जसमध्ये पाँच हजार हेक्टर जमीन बाँझो रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाँझो रहेको जमीनमध्ये व्यावसायिक खेती गर्न मिल्ने जमीन करिब ५०० हेक्टर रहेको छ । ढकालले भन्नुभयो, “बाँझो जमीनमध्ये कतिपय खोलामा परिणत भएका छन् भने कतिपय व्यावसायिक रुपमा खेती गर्न नसकिने रहेका छन् ।” बाँझो खेतको प्रयोगका लागि मन्त्रालयले कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर